आँधीखोले रोइला: एक परिचय
[गरिमा, असोज २०६०, वर्ष २१, अङ्क १०, पूर्णाङ्क २५०, पृ. १००-१०५ मा प्रकाशित]
– भीमनारायण रेग्मी
bhim_regmi@yahoo.com
१ पृष्ठभूमि
नेपाल अर्थात् पश्चिमाञ्चल विकासक्षेत्रस्थित स्याङ्जा जिल्ला लोकगीतका लागि प्रसिद्ध ठाउँहरूमध्ये एक हो। आँधीखोला यस जिल्लाको मुख्य खोलो हो। नेपाली लोकगीतको एउटा भेद रोइला यस क्षेत्रको सांस्कृतिक सम्पदा हो। यस क्षेत्रमा सडक यातायात सुरु हुनुअघि अर्थात् सिद्धार्थ राजमार्ग (सुनौली–पोखरा) बन्नुअघि आँधीखोलाको किनार पोखरादेखि बुटवल (बटौली) सम्मको व्यापारिक मार्गको एउटा खण्ड थियो। लोकगीतको मुख्य क्षेत्र हुनु र व्यापारिक मार्गमा हुनु यी दुई कारणबाट निश्चित रूपमा लोकगीतको प्रसारमा यस क्षेत्रको भूमिका उल्लेख्य छ भन्ने प्रस्टिन्छ।
लोकगीत लोकसाहित्यका अरू विधाझैँ नै लोकजीवनका धुकधुकीहरू बोकेर लोकजीवनमै बाँच्छ। यसैले लोकको गतिशीलतासँगै यो पनि गतिशील हुन्छ। गतिशील हुनाका कारण लोकगीतमा परिवर्तन पनि हुँदै जान्छ। यस्तो खालको परिवर्तन यसको विषयवस्तुमा, संरचनामा सम्पादनको तरिका र शैलीमा र नाममै पनि हुन सक्छ। त्यसैले एउटै नामले चिनिने लोकगीत ठाउँअनुसार भिन्न हुन सक्छ अनि भिन्नाभिन्नै नामले चिनिने भिन्नाभिन्नै ठाउँका लोकगीत एउटै हुन पनि सक्छ।
रोइला पनि गतिशीलता र परिवर्तनले ल्याएका विविधता र समानता अनि यसको उद्भव र प्रसारबारेका मतमतान्तरका कारण अस्पष्ट बन्न पुगेको छ।
यस लेखमा पहिले ‘आँधीखोले रोइला’को सङ्क्षिप्त परिचय दिइएको छ, यसपछि यसको उद्भव र प्रयोगक्षेत्रबारेका मतमतान्तरहरू प्रस्तुत गरिएको छ, अनि यसको संरचनाबारे प्रष्ट पारिएको छ, यसमा देखिने स्थानीयताको चर्चा गरिएको छ र अन्त्यमा निष्कर्ष प्रस्तुत गरिएको छ।
२ परिचय ‘आँधीखोले रोइला’ आँधीखोलाको सेरोफेरोमा मुख्य रूपले प्रचलित नेपाली लोकगीत हो। यो बाह्रै महिना र जुनसुकै समय गाउन सकिने सामान्य लोकगीत हो। यो मूलतः दोहोरीका रूपमा गाइन्छ, तर यो एक्लै वा समूह गायनका रूपमा पनि गाउन सकिन्छ। यो लघु आयामको (मात्र तीन पाउको) लोकगीत हो। यसमा स्थायी र अन्तराको भेद हुँदैन। यो खैँजडी र मुजुरा वा मादल बजाएर गाइन्छ र बिनावाद्य पनि गाउन सकिन्छ।
३ उद्भव र प्रयोगक्षेत्र
रोइलाको उद्भव र प्रयोगक्षेत्र तथा यसको नामका सम्बन्धमा समेत विद्वान्हरूबीच मतमतान्तर देखा पर्छ। त्यससम्बन्धी केही मतहरू निम्नानुसार छन् –
यो गीत गुल्मी जिल्लाबाट उम्रेको भनिन्छ, तर महाकालीभन्दा पश्चिमका पहाडमा पनि प्रशस्तै गाइन्छ। जे होस्, गुल्मी जिल्लाका बाहुन समाजमा ज्यादा छ। अघि कारणवश क्षेत्रीबाहुनले ‘झ्याउरे’को बहिष्कार क्यैबेला गरेदेखि संवत् २००७ तक् रोइला नै प्राय अपनाएका थिए (पन्त, २०२८:२८४)।
यो आँधीखोलाले लोकभावनाको शिरपाउ गुथेर आँधीखोले (रोइला) भन्ने नाउँ लिन पुगेको छ। ….. यस आँधीखोला (स्यांजा) को सीमित सेरोफेरोलाई पल्लो नुवाकोट भन्ने चलन थियो। अतः यी आँधीखोले लोकगीतलाई नुवाकोटे भनेर पनि कसैकसैले भन्दछन् (थापा, २०३०:१७९–८०)।
नेपाली लोकगीत–विवेचकहरूले ‘रोइला’ गीतको उद्गमथलो ‘गुल्मी जिल्ला’लाई मानेका छन्। गण्डकी अञ्चलमा भने यस गीतलाई गाउँघरका पाखापखेरासम्म पुर्याउने सौभाग्य स्याङ्जा जिल्लाले लिएको बुझिन्छ। … कस्केली भेकमा रोइलालाई आँधीखोले विशेषणसमेत लगाई सम्बोधन गर्दछन्– ‘आँधीखोले रोइला’ (थापा र सुवेदी, २०४१:९७)।
रोइला गीतको जननी आभ्यन्तरमा झ्याउरे, चुड्का, चुड्का ख्यालीलाई र बाह्यमा आँधीखोलाको सेरोफेरोलाई मानिन्छ। … आँधीखोलाको सेरोफेरो (नुवाकोट, गह्रौँ, पैयूँ, भीर्कोट, सतौँ, पर्वत गरी जम्मा ६ भागमा बाँडिएको छ, जसलाई पश्चिम ४ नं. पनि भनिन्छ) भनेर हामीले स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, कास्की, गोर्खा आदि जिल्लाहरूलाई चिन्नुपर्दछ (न्यौपाने, २०५५:१११)।
यस गीत (आँधीखोले रोइला) को मूल ठाउँ स्याङ्जाको नुवाकोट हो भनिन्छ तर आजभोलि त यस गीतले पश्चिमी भेकलाई सर्लप्पै ढाकेको छ। … रोइला हिजो क्षेत्रीबाहुनको समाजमा बढी झ्याम्मिए पनि आजभोलि यस भेकका सबै जातिको पेवा भएको छ (शर्मा, २०५६:१४)।
रोइला गीत पश्चिमाञ्चल क्षेत्रको गुल्मी जिल्लाबाट उत्पत्ति भएको मानिन्छ। यो गीत त्यहाँदेखि पूर्वका स्याङ्जा र कास्कीका बनबुटा, गोठ, पँधेरी अनि टारहरूसम्म छापछापती हुन पुगेको छ। त्यसो त यो गीत महाकाली छेउछाउका पहाडहरूमा पनि नगाइने होइन, तर गुल्मीदेखि यसले व्याप्ति लिँदै आएको छ। … ‘रोइला गीत’लाई नै ‘आँधीखोले गीत’ पनि भन्ने गरिन्छ (पराजुली, २०५७:१६२)।
मध्यपहाडी क्षेत्रको पाल्पा, गुल्मी र स्याङ्जाका बाहुनक्षेत्री तथा मगरहरूको समाजमा रोइला गीत निकै लोकप्रिय छ। … स्याङ्जामा रोइला भनिने यस्ता गीतलाई पाल्पाका केही ठाउँमा चुड्का पनि भनिन्छ। एकथरीको भनाइअनुसार रोइला गीतहरू चुड्का गीतबाटै विकसित भएका हुन् (बन्धु, २०५८:१३६)।
उपर्युक्त उद्धरणहरूबाट निम्नलिखित बुँदाहरू लिन सकिन्छ –
१ रोइला वि.सं. २००७ साल अघिदेखि नै अस्तित्वमा छ।
२ रोइला गीत पूर्वमा गोर्खादेखि पश्चिममा महाकालीपारिसम्म गाइन्छ तापनि मुख्य रूपमा गुल्मीदेखि कास्कीसम्म यसको बिस्तार पाइन्छ।
३ ख्याली, चुड्का र रोइलाबीच निकट सम्बन्ध छ।
४ रोइलाको उद्गमस्थल केहीले गुल्मी र केहीले स्याङ्जालाई मान्दछन्।
५ रोइलालाई ‘आँधीखोले रोइला’, ‘आँधीखोले गीत’, ‘नुवाकोटे गीत’ र ‘चुड्का’ पनि भनिन्छ।
६ यो बाहुनक्षेत्री र मगर समाजमा मुख्य रूपले प्रचलित छ भने अरू जातिमा पनि यसको प्रचलन छ।
यहाँ रोइला गीतको उद्गमस्थलका रूपमा गुल्मीलाई पनि देखाइएको भए पनि रोइलाका विभिन्न नाम र यसको प्रसारलाई हेर्दा स्याङ्जा नै यसको उद्गमस्थल हुने बलियो सम्भावना देखिन्छ। तर, यस विषयमा थप प्रमाण र तर्कका आधारमा जुनसुकै निष्कर्षमा पुग्न सकिने सम्भावनालाई खुलै छाडी शीर्षकबाटै अध्ययनलाई ‘आँधीखोले रोइला’मा मात्र सीमित गरिएको छ।
४ संरचना
रोइलामा तीन पाउ वा चरण हुन्छन् र यसमा स्थायी र अन्तरा हुँदैन भन्ने कुरामा यसका अध्येताहरू प्रष्ट र एकमत भए पनि यो अक्षर वा मात्रा केमा आधारित संरचना हो र ती कुन कुन पाउमा कति कति हुन्छन् भन्नेबारे अस्पष्टता देखिन्छ। यसको संरचनाबारेको अस्पष्टतालाई तीन भागमा बाँडेर हेर्न सकिन्छ।
पहिलो अस्पष्टता रोइला शीर्षकभित्र समेटिएका गीतहरूको संरचना फरक फरक भएकाले तीमध्ये कुनचाहिँ वा सबै रोइला गीत हुन् भन्ने अस्पष्टता हो। थापा (२०२०:२६३ र २०३२:१८५–२१५), पन्त (२०२८:२८४–५), पराजुली (२०५७:१६३–४) र अधिकारी (२०५८:१०–१४) मा यस्तो अस्पष्टता देखिन्छ। यसको समाधानका लागि यस लेखमा आँधीखोले रोइलाको संरचनासँग मिल्नेलाई मात्र आँधीखोले रोइलाका रूपमा लिइएको छ र अन्यलाई या त रोइला नै होइनन् या रोइलाका अरू नै (आँधीखोले बाहेकका) भेद हुन् भन्ने मानी छाडिएको छ।
दोस्रो अस्पष्टता लेख्य वर्ण (letter वा grapheme) र अक्षर (syllable) बारे अध्येताको अस्पष्टता हो। यस्ता अस्पष्टता थापा र सुवेदी (२०४१:९९), न्यौपाने (२०५५:११२), शर्मा (२०५६:१५) र पराजुली (२०५७:१६२) मा पाइन्छ। यीमध्ये थापा र सुवेदी र पराजुली प्रत्येक चरण प्रायः छ वा सात अक्षरका हुन्छन् र पूरा रोइला १९ देखि २१ अक्षरसम्मको हुन्छ भन्छन्। न्यौपाने प्रत्येक चरण अक्सर गरेर ७ वा ८ अक्षरका पाइन्छन् र पूर्ण आकार १९ देखि २४ अक्षरसम्मको पाइन्छ भन्छन्। शर्मा भने घटीमा १५ देखि बढीमा बीसबाइसे अक्षरसम्मको पङ्क्तिहार बनेको पाइन्छ भन्छन्। तर यीमध्ये पराजुलीका केही उदाहरणबाहेक सबै उदाहरणमा पहिलो चरणमा छ अक्षर र बाँकी चरणमा सात–सात अक्षर नै पाइन्छ।
तेस्रो खालको अस्पष्टता रोइला अक्षरमा आधारित संरचना हो कि मात्रामा आधारित संरचना हो भन्ने हो। यस्तो अस्पष्टता पन्त (२०२८) र बन्धु (२०५८) मा पाइन्छ। पन्त रोइला छन्दहरू आठ मात्रे दुई पाउका र आठै मात्रे तीन पाउका पनि हुन्छन् भन्दछन् (पृ. २८४–५)। बन्धु एक ठाउँ पहिलो चरनमा ६ मात्रा र दोस्रो र तेस्रो चरनमा ७–७ मात्रा हुन्छ भन्छन् (पृ. १३१) भने अर्का ठाउँमा पहिलो चरनमा ६ अक्षर र दोस्रो र तेस्रो चरनमा ७–७ अक्षर हुन्छ भन्छन् (पृ. १३६)। उदाहरण भने पन्तका केही र बन्धुका सबै नै ६–७–७ अक्षरका छन्, ६–७–७ मात्राका होइन। संरचनामा अक्षर वा मात्रा र तिनको सङ्ख्याबारे स्पष्ट हुन यो उदाहरण हेरौँ –
(१) मन्पेट् मलाई द्यौ न
टक मैमा लाइद्यौ न
तिमी मेरी भैद्यौ न
(पन्त, २०२८:२८५)
अक्षर श्वासको एक प्रवाहमा उच्चारण गरिसकिने वर्णहरूको समूह हो। त्यसैले यो उच्चारणका आधारमा निर्धारित हुन्छ र लेख्य वर्ण (यसलाई पनि सामान्यतः अक्षर नै भन्ने गरिएको छ) र यसको सङ्ख्या बराबर नहुन पनि सक्छ। उपर्युक्त रोइलालाई अक्षरका आधारमा हेर्दा –
मन् पेट् म लाई द्यौ न
१ १ १ १ १ १ = ६ अक्षर
ट क मै मा लाइ द्यौ न
१ १ १ १ १ १ १ = ७ अक्षर
ति मी मे री भै द्यौ न
१ १ १ १ १ १ १ = ७ अक्षर
यसरी यो ६–७–७ अक्षरको संरचना भएको रोइला हो। यसमा रहेका ‘लाई’ र ‘लाइ’ लेख्य आधारमा दुई दुई अक्षर भएका शब्द हुन् तर उच्चारणका आधारमा भने एक–एक अक्षर भएका शब्द हुन्। त्यसैगरी ‘टक’को उच्चारण सामान्य बोलचालमा ‘टक्’ वा एक अक्षरको हुन्छ। यसमा लेख्य वर्णहरू दुई छन् र गीतमा पनि दुई अक्षर नै अर्थात् ‘टक’ उच्चारण हुन्छ।
भाषामा मात्रा भनेको वर्णको दीर्घता (length) हो। यस आधारमा मात्रा ह्रस्व (छोटो), दीर्घ (लामो) र प्लुत (अति लामो) गरी तीन किसिमको हुन्छ। तर, छन्दमा मात्रा भनेको ह्रस्व अक्षरको उच्चारणकाल बराबरको समय हो। त्यसैले ह्रस्व अक्षर बराबर एक मात्रा र दीर्घ अक्षर बराबर दुई मात्रा गणना हुन्छ। माथिकै रोइलालाई मात्राका आधारमा हेरौँ –
मन् पेट् म लाई द्यौ न
२ २ १ २ २ १ = १० मात्रा
ट क मै मा लाइ द्यौ न
१ १ २ २ २ २ १ = ११ मात्रा
ति मी मे री भै द्यौ न
१ २ २ २ २ २ १ = १२ मात्रा
अर्को एउटा उदाहरण लिऔँ र यसलाई अक्षर र मात्राका आधारमा हेरौँ–
(२) छट्टु रुचाइँदैन
छोटी माया लाइँदैन
फुस्ल्याइँमा आइँदैन
(पन्त, २०२८:२८५)
छट् टु रु चाइँ दै न
१ १ १ १ १ १ = ६ अक्षर
२ १ १ २ २ १ = ९ मात्रा
छो टी मा या लाइँ दै न
१ १ १ १ १ १ १ = ७ अक्षर
२ २ २ २ २ २ १ = १३ मात्रा
फुस् ल्या इँ मा आइँ दै न
१ १ १ १ १ १ १ = ७ अक्षर
२ २ १ २ २ २ १ = १२ मात्रा
उपर्युक्त दुई उदाहरणमा के देखिन्छ भने अक्षरका आधारमा हेर्दा दुवैको संरचना एउटै अर्थात् ६–७–७ अक्षर छ तर मात्राका आधारमा हेर्दा भिन्नभिन्न संरचना अर्थात् पहिलाको १०–११–१२ र दोस्राको ९–१३–१२ मात्रा देखिन्छ। यसबाट रोइला अक्षरमा आधारित संरचना हो भन्ने प्रस्ट हुन्छ। यी दुई उदाहरणमा भएजस्तै ६–७–७ अक्षर भएका तीन चरणको, स्थायी र अन्तराको भेद नभएको गीत नै ‘आँधीखोले रोइला’ हो। यसको संरचनाको आधार अक्षर हो। त्यसैले अक्षरसङ्ख्या सबैमा बराबर हुन्छ तर मात्रा भने फरक–फरक हुन पनि सक्छ।
५. स्थानीयता
लोकसाहित्यमा कुनै खास ठाउँको जीवन अभिव्यक्त हुन्छ। तसर्थ, स्थानीयता लोकसाहित्यको मुख्य विशेषता हो। आँधीखोले रोइलामा आँधीखोले लोकजीवन अभिव्यक्त भएको हुन्छ। यद्यपि अभिव्यक्ति स्पष्ट किसिमको पनि हुन सक्छ र केही अप्रत्यक्ष पनि हुन सक्छ। यहाँ स्थाननाम र स्थानीय भाषिक भेदको प्रयोगका माध्यमबाट लोकजीवनको स्पष्ट अभिव्यक्ति भएका केही गीत उदाहरणस्वरूप प्रस्तुत गरिन्छ –
(३) स्याङ्जा मेरो जिल्ला
वालिम मेरो बसोबास
लाउँला माया खसोखास
(बन्धु, २०५८:१३१)
(४) कति छेपौली र
आँधीखोले पानीले
रामकोसकी नानीले
(शर्मा, २०५६:१५)
(५) बोलाए बोलूँ कि?
त्यसै लरी परूँ कि?
सधैँ वालिम झरूँ कि?
(थापा र सुवेदी, २०४१:१००)
(६) भाका बलामैको
पानी मिठो बिर्घाको
लाइदेऊ माया निर्भाको
(न्यौपाने, २०५५:१३६)
उपर्युक्त उदाहरणहरूमा परेका स्याङ्जा, वालिम (वालिङ), आँधीखोला, रामकोस, बलाम र बिर्घा स्थाननाम बुझाउने शब्द हुन् र ती आँधीखोला छेउछाउका ठाउँ हुन्।
(७) कुन्नि पत्याम्दिन
हेला झैँ त मान्दिन
हेला झैँ त मान्दिन
(थापा र सुवेदी, २०४१:९८)
(८) कति राम्रो भाका
सुनिरम् कि फूल भोरम्
जोवन दिम् कि मै मोरम्
(लेखकको आफ्नै स्रोत, न्यौपाने, २०५५:१०६ मा केही भिन्न प्रस्तुति)
(९) मायालुको नामको
रुमाल खस्यो राम्दीमा
म फर्केर आम्दिन
(शर्मा, २०५६:१३)
उपर्युक्त उदाहरणहरूमा वर्तमानकालिक क्रियामा ‘उँ’ का सट्टा ‘म्’ हुने (पत्याम्दिन, आम्दिन), इच्छार्थक क्रियाको ‘ऊँ’ ‘म्’ हुने (सुनिरम्, दिम्, भोरम्, मोरम्) र ‘भर्’ र ‘मर्’ धातुको ‘अ’ ‘ओ’ मा परिवर्तन हुने भाषिक भेदको प्रयोग छ। यो नेपाली भाषाको आँधीखोला क्षेत्रमा बोलिने भेद हो।
(१०) हुने रैछ भेट
आउनी जानी गरे त
बेसी मकै छरे त
(शर्मा, २०५६:१३)
यस (१०) उदाहरणमा ‘आउनी’, ‘जानी’ कृदन्तको प्रयोग छ जुन मानक नेपालीमा ‘आउने’, ‘जाने’ हुन्छ। यो पनि नेपालीको स्थानीय भेद हो।
यस्तै आँधीखोले रोइलामा त्यस क्षेत्रमा प्रयोग हुने विशेष शब्दहरूको पनि प्रयोग पाइन्छ। त्यस्ता शब्दको प्रयोग भएका गीतका उदाहरण हेरौँ –
(११) पारी बनपालेमा
ठूलो रूख टुनी हो
बैनी सारै खुनी हो
(शर्मा, २०५६:१३)
(१२) तिर्खा लाग्दा पानी
असेट् लाग्दा काँ जानी
असेट् लाग्दा काँ जानी
(न्यौपाने, २०५५:११२)
(१३) अचार करेलीको
तिहुन मिठो लौकाको
नछोड्नुस् है मौकाको
(थापा र सुवेदी, २०४१:९८)
उपर्युक्त उदाहरणहरूमा परेका खुनी (अन्तर्मुखी, कम बोल्ने, कपटी), असेट् (अत्याहट), तिहुन (तरकारी) आँधीखोला क्षेत्रमा प्रयोग हुने नेपाली भाषामा पाइने विशेष शब्दहरू हुन्।
(१४) त्यसो नभन न
कमलो मन रोइभ्याउँछ
काँ जाम् काँ जाम् भैभ्याउँछ
(न्यौपाने, २०५५:१०६)
यस उदाहरणमा ‘भ्याउनु’ (’सक्नु’ अर्थमा) सहायक क्रियाका रूपमा आएका दुई संयुक्त क्रियाको प्रयोग भएको छ। भ्याउनु सहायक क्रिया आँधीखोले स्थानीय भेद हो। यसरी विभिन्न स्थाननाम, स्थानीय शब्दभण्डारका शब्द र स्थानीय व्याकरणिक भेदको प्रयोगबाट आँधीखोले रोइलामा स्थानीयता प्रकट भएको पाइन्छ।
६ निष्कर्ष
उपर्युक्त समग्र अध्ययन–विश्लेषणबाट आँधीखोलाको सेरोफेरोमा एक्लै वा दोहोरीका रूपमा गाइने, ६–७–७ को अक्षर संरचना भएको, स्थायी र अन्तराको भेद नभएको, स्थानीयता झल्कने नेपालीको सामान्य लोकगीत आँधीखोले रोइला हो। यो त्यस क्षेत्रका क्षेत्रीबाहुन र मगरका साथै सबै जातजातिले गाउँछन् भन्ने निष्कर्ष प्राप्त भएको छ। यही नै आँधीखोले रोइलाको परिचय हो।
सन्दर्भसूची
अधिकारी, विश्वप्रेम (२०५८) पश्चिमाञ्चलका लोकगीत र परम्परा, स्याङ्जा: विजयकुमार अधिकारी।
कोइराला, शम्भुप्रसाद (२०५५) लोकसाहित्य: सिद्धान्त र विश्लेषण, विराटनगर: धरणीधर पुरस्कार प्रतिष्ठान।
थापा, धर्मराज (२०२०) हाम्रो लोकगीत, काठमाडौँ: रेडियो नेपाल।
(२०३०) गण्डकीका सुसेली, काठमाडौँ: नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान।
(२०३२) मेरो नेपाल भ्रमण, काठमाडौँ: साझा प्रकाशन।
थापा, धर्मराज र हंसपुरे सुवेदी (२०४१) नेपाली लोकसाहित्यको विवेचना, काठमाडौँ: त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्र।
न्यौपाने, कृष्णप्रसाद (२०५५) ‘आँधीखोले रोइला: संक्षिप्त विवेचना अध्ययन’, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा प्रस्तुत अध्ययन प्रतिवेदन।
पन्त, कालीभक्त (२०२८) हाम्रो सांस्कृतिक इतिहास, काठमाडौँ: लेखक स्वयं।
पराजुली, कृष्णप्रसाद (२०५७) नेपाली लोकगीतको आलोक, काठमाडौँ: वीणा प्रकाशन।
बन्धु, चूडामणि (२०५८) नेपाली लोकसाहित्य, काठमाडौँ: एकता बुक्स।
शर्मा, सुकुम (२०५६) ‘आँधीखोले रोइलासित मितेरी गाँसौँ कि!’ उदय, साउन–भदौ, पृ. १३–१५।

nice reserch paper
Comment by Sudip Aryal — June 7, 2006 @ 6:24 pm
Comment by ganesh tiwari — February 3, 2007 @ 7:54 pm
thikai cha
Comment by waed ali — July 3, 2007 @ 8:31 am
स्याङ्जा मेरो जिल्ला
वालिम मेरो बसोबास
लाउँला माया खसोखास
I realy loved song
आँधीखोले रोइला
Comment by Vinod Pangeni (Waling 10 Pekhu) Syangja — September 20, 2007 @ 11:15 am
स्याङ्जा मेरो जिल्ला
वालिम मेरो बसोबास
लाउँला माया खसोखास
I realy loved song
आँधीखोले रोइला
Comment by Vinod Pangeni (Waling 10 Pekhu) Syangja — September 20, 2007 @ 11:16 am
Concise but well researched paper! I enjoyed reading it.
Comment by Shesh Kanta Kafle, Indonesia — September 21, 2007 @ 1:12 pm
ha ha haaaaaa, syangja mero jilla,
malagiri mero gaun,
netra gurung mero name.
aha ha ha ha kati mitho bhaka.
hyaaaaa !!!!
Comment by netra tamu from uk — February 7, 2008 @ 2:28 pm
Sangja ho maro ghar,
gabica maro phaparthum
name ho Bishal
thau ho newboat
Thank
Comment by Bishal Dhakal — February 26, 2008 @ 9:11 am
iam very happy to know about this event .it is very good . step for devlopment education in distict wish u all the best of luck all syangja blog members once again thanks. SUKHDEV GURUNG (NANU) KEWORE - 8 KAPHAL DANDA SYANGJA NEPAL NOW INDIA ………..ANY BODY FRIENDS .-FRIENDSHIP WITH ME .sukhdev_99@yahoo.com all of you once again bye .
Comment by sukhdev_99@yahoo.com — July 1, 2008 @ 4:14 pm
This attempt made by Syangjali Bandus really made me happy! As this is my first visit to this site, I’ve no more words to praise/criticize it. I promise to be the frequent hunter of this site. C U later!!!
Comment by Yubaraj Paudyal — July 8, 2008 @ 1:40 pm
This attempt made by Syangjali Bandus really made me happy! As this is my first visit to this site, I’ve no more words to praise/criticize it. I promise to be the frequent hunter of this site. C U later!!! Please visit my site www.yuba.com.np
Comment by Yubaraj Paudyal — July 8, 2008 @ 1:44 pm
I really like this website. adhikhola is my play area. walling is my city. yo website le hamro purano pahichhan rakcha.
hamile aafna purano saskriti ritiriwazharu bachai rakhnu parcha……….
prem thapa walling 11 pekhu.. now U.A.E.
anybody new friend can send me mail…
prem_lucky32@yahoo.com
Comment by prem thapa — February 3, 2009 @ 2:56 pm
I read this document and find very nice. I think there is controversy on where it is originated . But think It is orginal Bhaka of Aandhikhola
Comment by Meghraj K.C — March 19, 2009 @ 6:52 am
thanks
verry grets proces
Comment by prem thapa magar — May 31, 2009 @ 9:59 am
bhaka balamaiko pani mitho birghakolaidau maya nirbhako
Comment by Raju Neupane — June 20, 2009 @ 6:03 am
iam very happy when i find about our identification.
Comment by Raju Neupane — June 20, 2009 @ 4:24 pm
yes very instrasting roela i like very much.
bhaka balamaiko pani metho birghako laidau maya nirvako.
Comment by Raju Neupane — November 13, 2009 @ 12:05 pm